FILTER SEARCH
ID: 202007B2
Created At: 19-Jul-2020 09:18 AM
यहाँ थाइल्यान्ड, चीन, ताइवान, भारत लगायत विभिन्न देशबाट साइकल ल्याइन्छ। दैनिक प्रयोगदेखि खेलकुद, मनोरञ्जनका लागि डाँडाकाँडा उफार्ने साइकल छन्। तिनलाई सात स्तरमा विभाजन गरिएको छ।
सन् १८१७ लाई साइकल आविष्कारको वर्ष मानिन्छ। जर्मनीका बारन कार्ल भोन ड्रेजले ब्रेक, चेन, पेडलबिना साइकल बनाएका थिए। त्यसलाई दुई खुट्टाले भुइँमा टेक्दै बल लगाएर ठेल्नुपर्थ्यो, जसलाई 'ड्रेसिएन' भनियो।
सुरूआती दिनमा साइकलले 'काठको घोडा' र 'खतरनाक खेलौना' को उपमा पायो। यसलाई सहज सवारी साधनका रूपमा विकास गर्न अनेक प्रयास गरिए। पेडलसहितको साइकलका लागि भने सन् १८३९ सम्म कुर्नुपर्यो। यो काम स्कटल्यान्डका कर्कप्याट्रिक म्याकमिलनले गरेका थिए। सन् १८८० दशकपछि भने सहज र आधुनिक साइकल बन्न थाले।
युरोप र अमेरिका हुँदै दक्षिण एसियामा लोकप्रिय साइकल सन् १९२० दशकमा मात्र नेपाल भित्रिएको हो। सुरूआती समयमा संसारभर 'एलिट' को पहुँचमा सीमित साइकल नेपालमा पनि राणा दरबारमा मात्रै सीमित थियो।
काठमाडौंका सर्वसाधारणको पहुँचमा साइकल कहिलेदेखि आयो होला? हिँड्दै पुग्नुपर्ने गन्तव्यका दुरी साइकलबाट घटाउने अवसर काठमाडौंबासीले कहिलेदेखि पाए?
यसको उत्तर कमलाक्षीस्थित साइकल पसल 'पञ्चनारायण अष्टनारायण' मा पाउन सकिन्छ। रानीपोखरीबाट कमलाक्षी मोडिनेबित्तिकै मन्दिरपछाडिको सानो गल्ली छिरेपछि बिक्रम सम्वत् १९८१ मा खुलेको यो पसल पुग्न सकिन्छ। करिब ९५ वर्ष पुरानो र नेपालकै पहिलो साइकल बिक्री केन्द्र मानिने यो पसल अष्टनारायण मानन्धरले खोलेका हुन्।
'पञ्चनारायण अष्टनारायण' साइकल पसल। तस्बिर सौजन्यः तिरेक मानन्धर
अष्टनारायणले बुवा पञ्चनारायण र आफ्नो नाम जोडेर पसलको नाम राखेका थिए। अहिले यसलाई अष्टनारायणका पनाति तिरेक मानन्धरले सञ्चालन गरिरहेका छन्। पुरानो नामलाई उनले सजिलोका लागि 'पिएएनसी' अर्थात् 'पञ्च-अष्टनारायण साइकल' बनाएका छन्। छोटकरीमा 'प्यांक' भनिन्छ।
त्यो जमानामा अष्टनारायणलाई साइकल पसल खोल्ने विचार कसरी आयो त? हामीले उनका पनाति तिरेकलाई सोध्यौं।
तिरेकका अनुसार उनका जिजुबाजे अष्टनारायणका एक जना साथी जर्नेल शुरशमसेरका चालक रहेछन्। ती साथीले एकपटक दरबारबाट साइकल ल्याएका थिए। अष्टनारायणले मागेर चलाए। ओरालोमा सन्तुलन गुमाएर उनको खुट्टा भाँचियो।
यो घटना उनको दिमागमा लामो समय बसिरह्यो। साइकलको हुटहुटी हटेन। साइकल मोहले उनलाई भारतको कलकत्ता पुर्यायो। उनले ६ वटा साइकल लिएर आए।
त्यो बेला भारतमै साइकल बन्थेनन्, बेलायती कम्पनी हर्कुलसका हुन्थे। अष्टनारायणले कलकत्ताबाट वीरगन्ज, हेटौंडा, भीमफेदी हुँदै काठमाडौंसम्म साइकल ल्याए। अष्टनारायणहरूको पहिले खाद्यान्न पसल थियो। साइकल बेच्न ल्याउँदा उनका बुवा पञ्चनारायणले हप्काएछन्- 'फलाम बेच्न लागिस्?'
अष्टनारायणलाई साइकल खुबै मनपरेको थियो। बेच्न राखे। तर सबै बेचिसक्न एक वर्षभन्दा बढी लाग्यो।
यसरी सुरू भएको साइकल पसलले अहिले चार पुस्ता देखिसकेको छ। यसबीच कमलाक्षीको यो क्षेत्रको पनि पहिचान फेरियो। यसलाई साइकल व्यापारीको गढ मानिन्छ। यहाँ साइकल पसलको लश्कर छ।
तिरेकले त्यही गढभन्दा केही पर कान्तिपथमा सन् २०१२ मा शाखा विस्तार गरिसके। कोरोना लकडाउनको सुरूआती समयमा व्यवसाय सुस्ताए पनि लकडाउन खुकुलो भएसँगै साइकल किन्नेको घुइँचो बढिरहेको छ।
कान्तिपथमा उनलाई भेट्न पुगेका हामीले करिब एक घन्टा त घुइँचो कम हुने दाउ कुरेरै बस्नुपर्यो।
'यो बेला सार्वजनिक यातायात नचलेकाले धेरै मान्छे साइकलमा आकर्षित छन्,' तारेकले भने, 'पहिलाभन्दा बिक्री बढेको छ तर मागअनुसार दिन सकिरहेका छैनौं। डलरको भाउ बढेकाले बाहिरबाट ल्याउँदा महँगो पर्छ। त्यसैले धेरै अर्डर गरेका छैनौं।'
यहाँ थाइल्यान्ड, चीन, ताइवान, भारत लगायत विभिन्न देशबाट साइकल ल्याइन्छ। दैनिक प्रयोगदेखि खेलकुद, मनोरञ्जनका लागि डाँडाकाँडा उफार्ने साइकल छन्। तिनलाई सात स्तरमा विभाजन गरिएको छ।
पहिलो अर्थात् नर्मल साइकल ८ देखि १५ हजार पर्छ। दोस्रो अर्थात्, अफ रोडमा चलाउने हाइब्रिड साइकल १२ देखि २५ हजार। तेस्रो स्तरका जो डाँडाकाडामा चलाउन मिल्छन्, २० देखि ५० हजारसम्मका छन्।
'आल्मुनियमले बनेका साइकलको माग बढी छ,' तिरेकले भने, 'काठमाडौंका लागि पहिलो वा दोस्रो स्तरकै साइकल हुन्छ। तर डाँडाकाँडामा पनि चलाउन मिल्ने भनेर तेस्रो स्तरकै माग बढी छ। त्यसैले यसको स्टक पनि कम छ।'
चौथो स्तरकोलाई क्रस कन्ट्री रेसमा जाने साइकल भनिन्छ, जुन ५० हजारदेखि डेढ लाखसम्म पर्छ। त्योभन्दा माथि भनेको डाँडाकाँडामा उफार्ने साइकल हो। पाचौं स्तरका यी साइकललाई 'ट्रेल बाइक' भनिन्छ, जुन ७० हजारभन्दा माथिका हुन्छन्।
योभन्दा माथि छैठौं स्तरको साइकललाई 'इनड्युरो' र सातौंलाई 'डाउन हिल' भनिन्छ, जुन ठूला डाँडामा उफार्न काम लाग्छ। यी साइकल दुई लाखभन्दा बढी मूल्यका हुन्।
'चौथोदेखि माथिका साइकल खासै बिक्दैनन्। यी स्तरका हामीले पहिल्यैदेखि त्यति राखेका पनि छैनौं,' तिरेकले भने।
पहिले साधारण साइकल बिक्री हुने पसलमा सन् १९९० तिर हिरो कम्पनीको गेयरवाला साइकल आयो। त्यसबेला मान्छेको भिडै लागेको तिरेक अझै सम्झन्छन्।
सन् १९९० देखि भने गाडी र मोटरसाइकलमा मान्छेको आकर्षण बढ्न थाल्यो। त्यसपछि साइकल दैनिक प्रयोगभन्दा रमाइलोका लागि चलाइन थालियो। त्यसै कारण रमाइलो र डाँडाकाँडा गुडाउने साइकल व्यवसाय उनले विस्तार गरे।
साइकल हेर्दा सबै उस्तै देखिन्छन्। यसै कारण पनि मान्छे साइकल किन्दा अलमल पर्छन्। कुनै एउटा स्तरको साइकलमा पनि ब्रान्डेड, 'हाइ–लो कपी' हुन्छ। तिनमा पनि कुनै एक सामान हेरफेर भयो भने मूल्य फरक पर्छ।
'मान्छे यस्तै कारणले अलमल पर्नुहुन्छ। बुझाउनै समय लाग्छ,' तिरेकले भने, 'साइकल किन्न अरू सवारी किनेजस्तो सजिलो छैन। धेरै कुरामा ध्यान दिनुपर्छ।'
कस्ता कुरामा ध्यान दिनुपर्छ त?
सुरूमा त आफ्नो उचाइ। आफ्नो शरीरअनुसारको साइकल छान्नुपर्छ।
दोस्रो, साइकलको स्तर।
त्यसपछि कति गेयर र ब्रेक भन्ने हुन्छ अनि बल्ल ब्रान्ड।
'यहाँ त ठ्याक्क उल्टो छ। मलाई यो ब्रान्डको साइकल दिनुस् भन्दै आउनुहुन्छ। एक हिसाबले भन्दा ग्रुपिजमजस्तै छ। एउटाले 'जायन्ट' चलाएको देखे अर्काले पनि त्यही खोज्दै आउँछन्। साइकल किन्न आएपछि स्तर, उचाइ मिल्दैन अनि अलमलमा पर्छन्,' तिरेकले भने, 'सुरूमा आफ्नो जिउ सुहाउँदो कुन हो भनेर हेर्नुपर्छ अनि अन्तिममा बल्ल ब्रान्ड।'
त्यसपछि पनि मान्छे साइकलको स्वरूप, रङमा जान्छन्। त्यसलाई विद्युतीय बनाउने, के-कस्तो सबै कुरा हेरेपछि बल्ल किन्छन्। अरू सवारीजस्तो घरमा सबै फिचर हेरेर बल्ल किन्न जानेभन्दा पसल नै गएर 'फिचर' बुझिन्छ। आफ्नो ज्यानलाई मिल्ने साइकल फेला पर्छ।
साइकल विद्युतीय बनाउने हो भने शरीर चाँडै गलाउँदैन। दैनिक लामो दुरी यात्रा गर्नेलाई यो राम्रो विकल्प हुन सक्छ।
'ब्याट्री–मोटर–कन्ट्रोलर' हालेपछि जुनै पनि साइकललाई विद्युतीय बनाउन सकिन्छ।
'इलेक्ट्रिक भनेपछि मोटरसाइकलजस्तो सरर आफैं गुड्ने भन्ने होइन। इलेक्ट्रिकलाई हामी पेडलको सहयोगी भन्छौं,' बुझाउँदै तिरेकले भने, 'पहिला शक्ति त खुट्टाकै लिन्छ। खुट्टाको जोडपछि बल्ल मोटरले काम गर्छ।'
विद्युतीय साइकललाई आफ्नो आवश्यकताअनुसार 'लो, मिडियम र हाइ' बनाउन सकिन्छ। ब्याट्री सकियो वा आफूलाई व्यायाम गर्नुछ भने मोटर बन्द गरेर पेडल मारे भयो। कतै छिटो पुग्नुछ भने पूरै विद्युतीयमा राखेर जाँदा हुन्छ। त्यस्तो बेला १० प्रतिशत जति मात्र खुट्टाको बल पर्छ।
यसमा प्रयोग हुने ब्याट्री हाम्रो ल्यापटपमा हुनेजस्तै लिथियम आयनले बनेको र चलाउँदा कम्प्युटरजस्तै 'प्रोग्रामिङ' हुन्छ। करिब २५ सेल ब्याट्री जोडेर विद्युतीय साइकल बनाउने हो भने करिब ५० हजार खर्च गर्नुपर्छ।
'अहिले एउटा चक्का र ब्याट्री जोड्नुपर्छ। अब त झन् एउटा चक्कामै मोटर ब्याट्री कन्ट्रोलर आउने तयारीमा छ। मान्छे जहिले पनि सजिलो र ब्याट्री राखेर साइकल भारी गर्न नचाहने हुन्छन्,' उनले भने।
तिरेकले मेकानिकल इञ्जिनियरिङ पढेका हुन्। प्रायः साथी वैदेशिक रोजगारमा लागे पनि उनले पुर्ख्यौली पेसालाई नै आफ्नो व्यवसाय बनाए।
हाँस्दै भने, 'पढेका कुरा अहिले व्यवसायमा काम लागिरहेको छ। इलेक्ट्रिक साइकलमा केही बिग्रियो भने कसरी बनाउने धेरैलाई थाहा हुन्न, जुन मलाई आउँछ।'
प्यांकले साइकल बेच्ने मात्र होइन, साइकल प्रवर्द्धन गर्दै आएको 'नेपाल साइकल सोसाइटी' संस्थासँग मिलेर साइकल चलाऔं अभियान चलाइरहेको छ। पछिल्लो समय साइकल सोसाइटीले लेन बनाइरहेका बेला उनीहरू साइकल चलाउने 'संस्कृति' बढाउन खोजिरहेका छन्।
'हाम्रो साइकल चलाउने संस्कृति नै छैन। आज पानी पर्यो, घाम लाग्यो भन्दै चलाउन नखोज्नेहरू हुन्छन्। मान्छे अलि अल्छी छन्। त्यसैले हामी साइकल संस्कृति बढाउन खोजिरहेका छौं,' उनले भने, 'सधैं नभए पनि साताको एक दिन त चलाऔं भन्दै हरेक शुक्रबार अभियान गरिरहेका छौं।'
उनीहरू 'टुर द लुम्बिनी-सिन्धुली' भन्दै सम्पदा र विभिन्न ठाउँका यात्रा पनि गराउँछन्। त्योबाहेक महिलाहरूको साइक्लिङ र विभिन्न प्रतियोगितामा प्रायोजन गर्छन्, 'मेकानिक पठाउने, साइकल सस्तो भाडामा दिनेदेखि रुटको योजना बनाउनेसम्म गर्छौं।'
प्यांकमा पुरानो साइकल 'रिकन्डिसन' वा 'रिफर्निस' गरेर पनि बेचिन्छ। रिकन्डिसन गर्दा बिग्रेका सामान फेरिन्छ भने रिफर्निस गर्दा गेयरको सट, टायर सबै फेरेर नयाँजस्तै बनाइन्छ। सट्टापट्टा गरेका साइकल भाडामा पनि दिन्छन्। त्योबाहेक नयाँ किन्न चाहनेले किस्तामा किन्न पाउँछ।
'साइकल पनि अन्य सवारीजस्तै समय-समयमा सर्भिसिङ गर्नुपर्छ। यहाँ त बिग्रेपछि बल्ल बनाउन आउँछन् अनि धेरै खर्च गरायो भन्छन्,' उनले भने, 'साइकलको सबै भाग खुला हुने भएकाले झन् धेरै सर्भिसिङ गर्नुपर्छ, जुन ५ देखि ९ सय रूपैयाँमा हुन्छ।'
तिरेक सामाजिक कार्यमा पनि सक्रिय छन्। विशेषगरी, केटाकेटीका साइकल ठूलो भएपछि उनीहरूलाई काम लाग्दैन। साटेका पुराना साइकल उनी अनाथाश्रममा दान दिन्छन्। अपांगता भएका र साइकल चलाइरहेकालाई पनि सहयोग गर्छन्।
'हाम्रो परिवार पहिलेदेखि सामाजिक कार्यमा थियो। बाजेबराजुदेखि नै स्वयम्भूको भर्याङ बनाउनेदेखि दीनदुःखीलाई सहयोग गर्ने काम हुन्थ्यो। त्यसैको प्रभाव परेको हुनुपर्छ ममा,' उनले भने।
तिरेकलाई लाग्छ– लेन भएर मात्रै साइकल चलाउनेहरू बढ्दैनन्। साइकल संस्कृति बढ्नुपर्छ। यसका लागि साइकल चलाउन प्रेरित गर्नुपर्छ।
'काठमाडौं उपत्यका खासमा हिँड्नै मिल्ने सहर हो। यहाँ धेरै भित्री बाटा छन्। मुख्य सडकमै चलाउनुपर्छ भन्ने छैन,' उदाहरण दिँदै भने, 'तपाईंलाई यहाँबाट ललितपुर जानुछ भने असन–इन्द्रचोक, लगन–टेकु हुँदै जान सक्नुहुन्छ।'
'ठमेल लगायत कतिपय ठाउँमा सवारीसाधन रोक छ। त्यहाँ चलाउन मिल्यो। साइकल लेन भयो भने चलाउँछु भन्छन् तर त्यो मात्र कारण होइन। लेन नै चाहिन्छ भन्ने छैन। केवल उत्प्रेरणा जरुरी छ।'
साइकल सुरक्षित छैन भनेर नचलाउनेहरू पनि छन्। साइकल चलाउँदा मान्छेले परैबाट प्रस्ट देखिने लुगा र हेलमेट लगाए यो समस्या कम हुन्छ। तर मान्छे उल्टो गर्छन्।
'सबभन्दा महत्वपूर्ण भनेको साइकल चलाउने प्रेरणा नै हो। परिवारले आफैं चलाएर साना केटाकेटीलाई प्रेरणा दिनसक्छन् भने कार्यालयहरूले सुविधा प्रदान गर्न सक्छन्,' उनले भने, 'प्रेरणा भयो भने बानी पर्छ, बानी भएपछि त चलाइहाल्छन्।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी
See More Product Images:
202004B1
No, e-bikes aren’t cheati...
202005B6
About 4,000 containers st...
202005B21
10 Companies That Control...
It might surprise you that the...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout