FILTER SEARCH
ID: 202012B4
Created At: 04-Dec-2020 03:21 AM
पछि होसमा उठ्दा स्कुटर चलाउने युवती रोइरहेकी थिइन्– ला! यो मान्छेलाई मैले ठोकिदिएँ। यसको हात पनि छैन, खै कता गयो।
राम अधिकारीलाई द्रुत गतिमा साइकल चलाउन मन पर्छ।
एकदिन गौशाला नजिकै भर्खर बनेको कच्ची बाटोमा उनी साइकल चलाइरहेका थिए। सँगैको स्कुटरलाई जित्ने हुटहुटीमा बत्तिए। त्यही बेला स्कुटर 'डिस्ब्यालेन्स' भयो। राम भित्तामा ठोकिए र बेहोस भए।
पछि होसमा उठ्दा स्कुटर चलाउने युवती रोइरहेकी थिइन्– ला! यो मान्छेलाई मैले ठोकिदिएँ। यसको हात पनि छैन, खै कता गयो।
अहिले यो घटना सम्झँदा रामलाई हाँसो लाग्छ। उनी त पहिल्यैदेखि एक हात बिनै साइकल चलाउने 'पारा साइकलिस्ट' जो हुन्। जसको हात–खुट्टा छैन तर पनि खेलकुदमा सक्रिय छन्, उनीहरू पारा खेलकुद अन्तर्गत पर्छन्। साइकल यसैमध्येको एक विधा हो।
जति उनी त्यो दुर्घटनाको दिन सम्झिएर हाँस्छन्, आफ्नो हात गुमाएको दिनको सम्झनाले झस्किन्छन्।
उनी जम्मा सात वर्षका थिए। त्यतिबेला उनको दोलखास्थित घरमा डिजेलबाट चल्ने मिल थियो।
बुवा भारतमा काम गर्नु जानुअघि भनेका थिए, 'मिल धेरै चलिरहँदा तातेर पड्किन्छ। यसैले छिनछिनमा बन्द गर्दै चलाउनुपर्छ है।'
त्यो बेला आमाले अंकललाई मिल बन्द गर्न भनेकी थिइन्। सँगै गएका राम हुत्तिएर मिलमा पुगेछन्, हात मिलले काटिदियो। चुँडियो।
हतारहतार उनलाई सदरमुकाम चरिकोट ल्याइयो। त्यहाँ मल्हमपट्टी गरेर काठमाडौं जान हतारिए। परिवार–गाउँलेहरूलाई लागेको थियो– २४ घण्टाभित्र उपचार भयो भने हात जोडिन्छ।
त्यही सोचमा काठमाडौं त ल्याए, तर त्यो बेला उनको अवस्था देखेर डाक्टरले भनिदिए, 'उपचारका लागि मन्त्रीको सिफारिस चाहिन्छ।'
त्यस्तो बेला कहाँ सिफारिस खोज्नु, कहाँ के?
दार्जिलिङतिर रामका हजुरबुवा र काकाहरू बस्थे। उनीहरूले उतै बोलाए र उपचार गरे। तर धेरै ढिला भइसकेकाले हात जोड्न पाएनन्।
त्यो दिन सम्झँदा उनलाई अझै लाग्छ, 'त्यो बेला समयमै उपचार गर्न पाएको भए...'
दाहिने हात गुमाएपछि उनले धेरैजसो काम देब्रे हातले गर्नुपर्ने भयो। भर्खरै त कक्षा एकमा पढ्दा लेख्न सिक्दै थिए, हातै गयो। अस्पतालमै रहँदा उनलाई नर्सहरूले देब्रे हातबाट लेख्न सिकाए।
अहिले त एउटै हातसँग उनलाई बानी परेको करिब २५ वर्ष भयो। तर अचेल उनलाई देख्नेहरूलाई भने बानी पर्न केही समय नै लाग्छ। धेरै जना त अचम्म मानेर हेरिरहन्छन्।
केही दिनअघि मात्रै त्यस्तै एक जनासँग उनको भेट भएको रहेछ।
एकदिन साइकल चलाएर जावलाखेलमा हिँडिरहेका बेला उनको फोटो खिचेका रहेछन्। पछि साइकल किन्न आउँदा उनीसँग जम्का भेट भयो। पहिलेको फोटो उनलाई देखाएछन्।
'कसरी चलाएको? तिमीले त चलायौ, हामी पनि सक्छौं भन्दै प्रेरित हुँदै जानुभयो,' रामले भने, 'यस्ता प्रतिक्रियाले हौसला मिल्छ।'
कसैले भने होच्याउँदा पनि रहेछन्, 'एउटा हातले साइकल चलाएर के फूर्ति लगाएको!'
सुरूआतमा साइकल सिक्छु भन्दा आमाबुवा पनि रिसाउँथे रे। कहीँ लड्ला, ठोक्किएला भन्ने उनीहरूको डर थियो। त्यसमाथि एउटा हात नभएपछि डरको सीमा चुलिनु स्वभाविक हो। तर विस्तारै आफ्नो क्षमता प्रमाणित गरेपछि उनीहरू उल्टो रामलाई देखेर गर्व महसुस गर्छन्।
३३ वर्षीय रामले साइकल चलाउन कक्षा १० पढ्दाताका सिकेका हुन्। त्यतिबेला दोलखाबाट सदरमुकाम चरिकोटमा एक महिना जति पढ्न भनेर साथीकहाँ आएका थिए। साथीको साइकल थियो। उनलाई पछाडि राखेर त चढाउँथे, चलाउन भने जति भन्दा पनि दिएनन्।
अहिले सम्झिँदा रामलाई लाग्छ– सायद! म लड्छु, ठोक्किन्छु भनेर होला।
त्योबेला भने उनलाई रिस उठ्यो। इख लाग्यो। सदरमुकामकै एक पसलेसँग भाडामा मागेर साइकल ल्याए।
'उकालो–ओरालोमा ह्यान्डल गर्न सिकेँ, एकै दिनमा,' उनले भने।
जुन साथीले उनलाई साइकल चलाउन दिएका थिएनन्, पछि उनैको साइकल रामले किनेछन्।
'त्यो साथीसँग मैले पैसा लिनुपर्ने थियो। १२ पढ्न काठमाडौं आउनेक्रममा मैले पैसाको सट्टा साइकल नै लिएँ,' उनले भने।
तस्बिर सौजन्यः राम अधिकारी
दोलखामै हुँदा एसएलसीपछिको छुट्टीमा रामले थांका पेन्टिङ सिकेका थिए। काठमाडौं आएपछि भक्तपुर, नगदेश बस्थे, दरबार स्क्वायरमा पेन्टिङ गर्न जान्थे। एउटा चित्र बनाउँदा ११–१२ रुपैयाँ कमाइ हुन्थ्यो त्योबेला। दिनभरि काम गर्दा ४०–५० कमाउँदा पनि ठूलै थियो। पछि थांका छाडेर उनी मार्केटिङतिर लागे।
काम गरेर काठमाडौंमा संघर्ष गरिरहेका बेला गाउँका एक दाइले उनलाई एउटा संस्थामा राखिदिए। त्यही बसेर पढे, नेतृत्वका तालिमहरू लिए। होस्टल बसेरै कक्षा १२ सके।
होस्टल सकेपछि ठूलो बुवाका छोरासँग ७ सय ५० रूपैयाँमा साइकल किनेर चलाए। त्यही साइकल बनाउने क्रममा एकदिन उनी डुलिरहेका थिए, नेपालकै पुरानो मानिने साइकल पसल पन्चनारायण-अष्टनारायण (प्यांक) का सञ्चालक तिरेक मानन्धरसँग उनको भेट भयो।
कमलाक्षीस्थित उक्त पसलमा पुगेर साइकल बनाउदा उनीसँग पुग्दो पैसा थिएन। तिरेकले त्यो कुरा वास्ता गरेनन्। पछि आउँदा–जाँदा उनीसँग नजिकिए। अहिले उनी प्यांकबाटै 'स्पोन्सरसिप'मा साइकल चलाउँछन्।
रामले चलाउने साइकल अलि भिन्न छ। साइकलबारे बताउँदै प्यांकका सञ्चालक तिरेक भन्छन्, 'पहिला रामले चलाएको साधारण फलामको साइकल थियो। अहिले कार्बनको हलुका साइकल चलाउँछन्। उनका लागि हाम्रै मेकानिक सुजित कुमारले परिमार्जन गरेर दुवै ब्रेक देब्रे हातमा राखिदिएका छन्। यसपछि उनले झनै सजिलो गरी साइकल चलाउन थाले। हामीले उजस्तै मान्छेलाई सकेसम्म साइकलमा सहयोग गरिरहेका छौं।'
रामले केही साताअघि मात्रै काठमाडौंबाट वीरगञ्जसम्म १ सय ५६ किलोमिटर यात्रा साइकलमा गरिसकेका छन्, त्यो पनि एकै दिनमा। उनी यो यात्रालाई सबभन्दा ठूलो उपलब्धि मान्छन् र आगामी दिनमा यस्तै साहसी यात्रा गर्न चाहन्छन्।
बाटामा साइकल चलाउँदा अनेक सास्तीसँग पनि सामना गर्नुपर्छ।
सानो ठाउँमा ठूलो फन्को लिन गाह्रो हुने, चिप्लिन्छ कि भन्ने डर, उकालो–ओरालोका उबडखाबड, ती चुनौती हुन्। तर दैनिक अभ्यासले उनलाई सामान्य भइसक्यो। ठूला दुर्घटना सामना गर्नुपरेको छैन।
साइकल लेन भने सबै ठाउँ भइदिए दैनिक यात्रा गर्न सजिलो हुने बताउँदै भन्छन्, 'नेपालमा साइकलका लागि लेन बनाउनु ठूलो क्रान्ति हो। हाम्रो त अधिकारकै कुरा पनि हो।'
साइकल चलाएरै विभिन्न ठाउँ पुगिसके राम। उनको परिचय पारा साइकलिस्टमा मात्रै सीमित छैन, उनी पारा तेक्वान्दो खेलाडी पनि हुन्।
विशालनगरमा डेरा बस्दा उनी ताहचलस्थित महेन्द्र रत्न क्याम्पस साइकलमै जान्थे। जहिल्यै क्याम्पस जाँदा रंगशाला छिर्थे। त्यही बेला उनको भेट प्रशिक्षक अशाेक खड्कासँग भयो। तिनै प्रशिक्षकको हौसलामा पारा तेक्वान्दो खेलिरहेका छन्।
पारा तेक्वान्दो मार्सलआर्ट विधाको खेल हो। मार्सलआर्टलाई हात–खुट्टाको कला पनि भनिन्छ। पारा तेक्वान्दोमा भने हातले हानेको अंक आउँदैन, खुट्टाको मात्र आउँछ।
कमलाक्षीमा एक्लै भाडामा बस्ने राम आफ्ना घरायसी काम आफैं गर्छन्। दिँउसो कुपन्डोलस्थित सामाजिक काम गर्ने 'परिचय समाज'मा काम गर्छन्। कोरोनाका कारण उनको बिहानको तेक्वान्दो तालिम भने छैन।
उनीजस्तै पारा तेक्वान्दो र साइकल चलाउने सिर्जना घिसिङ, रञ्जना धामी, विशाल गरबुजा लगायत छन्। उनीहरूलाई रामले नै हौसला दिँदै आएको बताउँछन्।
'हामी जस्ता मान्छे हातको औंलामै गन्न सक्ने हुनुहुन्छ। मजस्तै साथीलाई अरूले गिज्याउँछन् भनेर लुकेर नबस्न आग्रह गर्छु,' उनले भने, 'झन् उहाँहरूलाई खेलमा लाग्न भन्छु। आफ्नो शरीरलाई पनि फाइदै हुन्छ।'
पारा तेक्वान्दो र साइकलबाट नाम बनाइसकेका राम आफूजस्तै भाइबहिनीलाई भविष्यमा तालिम दिन चाहन्छन्। उनको अर्को चाहना पनि छ, ओलम्पिक खेल्ने।
भन्छन्, 'तेक्वान्दोबाट ओलम्पिक जाने मन छ। त्यहाँबाट पूरा भएन भने साइकलबाट हुन्छ कि?'
See More Product Images:
202004B1
No, e-bikes aren’t cheati...
202005B6
About 4,000 containers st...
202005B21
10 Companies That Control...
It might surprise you that the...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout