FILTER SEARCH
ID: 2112B175
Created At: 19-Dec-2021 03:01 PM
Nepal's digital newspaper, online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment, ghumphir, global, sports. etc.
न्यूयोर्क टाइम्स-को बेस्टसेलर्स सूचीमा छ वर्षभन्दा बढी रहन सफल किताब हो 'रिच ड्याड पुवर ड्याड'।
१०९ भन्दा धेरै देशमा, ५१ वटाभन्दा बढी भाषामा, ३ करोड २० लाख प्रति बेचिएको पुस्तक हो यो l यसले वित्तीय साक्षरता (वित्तीय शिक्षा), पुँजी लगानी, सम्पत्ति र व्यवसायहरूमा स्वामित्व, आफ्नो धन वृद्धि गरी छोटो समयमा वित्तीय स्वतन्त्रता कसरी आर्जन गर्नेबारे वकालत गर्छ।
यो किताबले दुई बुबालाई तुलना गरेको छ।
एक बुबा नियमित जागिरमा कडा परिश्रम गर्छन्। तर उनलाई सधैं पैसाको धौधौ हुन्छ। अर्का बुबा होसियारीसाथ लगानी गर्दा सानै उमेरमा धनी भएर वित्तीय स्वतन्त्रता प्राप्त गर्छन्।
हाम्रो शिक्षा प्रणालीले भने सधैं पहिलो बुबा छानेको छ। अब फरक तरिकाले सोचौंl
उदाहरणका लागि विश्व प्रसिद्ध धनाढ्य वारेन बफेटले दस बर्षको उमेर देखिनै न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार थालिसकेका थिएl जबकि नेपालमा त्यो उमेर समूहमा पढाइबाहेक अतिरिक्त क्रियाकलाप भनेको राजनीति गर्ने हुन्छ भन्ने प्रमाण अहिले विभिन्न पार्टीको अधिवेशनमा चुनाव जितेर आएका नेताहरूको इतिहासले देखाउँछl
२००७ सालयता हामीलाई सानै उमेरदेखि निरन्तर राजनैतिक सक्रियताबारे सजग गराइएको थियो। तर आर्थिक चेतनालाई कुनै महत्व दिइएको थिएन। २०४६ सालपछि जब हामीले प्रजातन्त्र हासिल गरेका थियौं, हामीलाई वित्तीय साक्षरताबारे सिकाउन पर्ने थियो। तर हाम्रो रेडियो, टिभी र अखबारले प्राथमिकता राजनीतिक कुराकानी र समाचारलाई नै बनाए।
प्रमुख समाचार प्रसारकका लागि वित्तीय साक्षरता प्राथमिकतामा नपरे पनि युवा पुस्ताले वित्तीय गतिविधिमा चासो देखाएका छन्l
उदाहरणका लागि हाल ४७ लाखभन्दा बढी नेपालीले डिम्याट खाता खोलेका छन्l त्यसैले स्टक एक्सचेन्जबारे थोरै चर्चा गरौं।
पहिलो स्टक बजार १७ औं शताब्दीमा लण्डनका कफी घरहरूमा स्थापना गरिएको थियो। आजको बजारको जस्तै विशिष्ट झिलमिल इलेक्ट्रोनिक्स र उन्मादित व्यापारिक तलाको सट्टा, व्यापारको व्यावसायिक सेयर स्वामित्वमा राख्न इच्छुक मानिसहरू जोनाथनको कफी हाउसजस्ता स्थानमा भेला हुन्थे। लण्डन स्टक एक्सचेन्जको ऐतिहासिक रेकर्डअनुसार त्यहाँ जोन कास्टिङ जस्ता व्यक्तिले 'लण्डनमा बिक्री योग्य वस्तु' कालागि स्टक र वस्तुको मूल्य पोस्ट गरे। यो 'संगठित व्यापारको प्रारम्भिक प्रमाण' थियो र मार्च ३, १८०१ मा कफी घरबाट वास्तविक स्टक बजार सर्यो।
स्टक बजारको जन्म भएदेखि पेशेवर लगानीकर्ताले नयाँ प्रविधि कोर्दै आएका छन्। कसै-कसैले स्टक बजारमा गरिने लगानीलाई आफ्नो पेसाको रूपमा लिन्छन् भने अरूले भावी पुस्तालाई भनेर लगानी गर्छन्। यद्यपि स्टक बजारले सधैं बजारमा उच्चतम प्रतिफल उत्पन्न गरेको छैन l यो एउटा अन्तर्राष्ट्रिय बजार हो, जसले आर्थिक मन्दीको सामना गरेको छ र बजार परिवर्तनद्वारा विकसित भएको छ। तर यो कहिल्यै पनि अनावश्यक सावित भएको छैन।
स्टक बजार, सर्वप्रथम व्यवसायी-उद्यमी तथा उद्यमलाई पुँजी उपलब्ध गराउने उद्देश्यले एकसाथ भेला हुन मद्दत गर्न स्थापित वित्तीय संस्था हुन्। स्टक एक्सचेन्ज नभएको भए लगानीकर्ता खोज्न उद्यमीलाई आफ्नै बलबुतामा भर पर्नुपर्थ्यो। यसका कारण उनीहरू कुनै अनियमित वित्तीय संस्थाको दयामा भर पर्नुपर्ने अवस्था आउँथ्यो। वा बैंकसँग चर्को ऋणमा सहमति गर्नुपर्थ्यो। अनि लगानीकर्ताले कम्पनीको उत्पादनभन्दा पनि बढी समय साँवा-ब्याज कसरी तिर्ने भन्नेमा ध्यान दिनुपर्थ्यो। उसलाई वित्तीय स्वतन्त्रता कम प्राप्त हुन्थ्यो।
त्यसैले स्टक एक्सचेन्जबाट पुँजी उपलब्ध गर्नु राम्रो होl सक्षम व्यक्ति स्टक बजार प्रणालीबाट प्रारम्भिक सार्वजनिक आइपिओ' जारी गरी सजिलै आवश्यक पैसा संकलन गर्न सक्छl
उदाहरणका लागि एप्पल, गुगल, लगायत कम्पनीले स्टक एक्सचेन्जमार्फत आफ्नो विकास लागि आवश्यक कोष संकलन गरेका हुन् र गर्दै छन्। नेपालमा पनि थुप्रैले यसरी रकम संकलन गरी आफ्नो कम्पनी विस्तार गरेका छन्l
स्टक एक्सचेन्जले राष्ट्रको वित्तीय स्वास्थ्यको ब्यारोमिटरका रूपमा काम गर्न सक्छ। यसले घरेलु अर्थतन्त्रको उतारचढाव, प्रवृत्ति र परिवर्तनको आकलन गर्छ। स्टक बजार गतिविधिको प्रत्यक्ष प्रभावले राष्ट्रको अर्थव्यवस्थालाई विभिन्न तरिकामा असर गर्न सक्छ।
स्टक घट्छ, खर्च रोकिन्छ, उपभोक्ताहरूले आत्मविश्वास गुमाउँछन् र राष्ट्रको वित्तीय अवस्था खस्न थाल्छ। यसको विपरीत, स्टक बढ्छ, आत्मविश्वास बढ्छ, खर्च र लगानी बढ्छ। राष्ट्रको मुड सेयर बजारको गतिविधि र कार्यसम्पादनमा बढ्न वा खस्न सक्छ। यसले स्टक एक्सचेन्जले खेलेको भूमिका समाजको सामाजिक र वित्तीय फड्कोमा कत्तिको महत्वपूर्ण हुन सक्छ भन्ने देखाउँछ।
अमेरिकी श्रम तथ्यांक ब्यूरोमा आधारित आँकडाले वल स्ट्रिटले सयौं हजार मानिसलाई काममा लगाएको देखाएको छ। हामीले पनि त्यस्तो रेकर्ड राख्ने हो भने कति जनाले नेपाल स्टक एक्सचेन्जमार्फत रोजगारी प्राप्त गरे भनेर देखाउन सक्छौं। यकिन भन्न नसके पनि यो संख्या धेरै छ भनेर अनुमान लगाउन कठिन छैन।
सेयर बजारमा जम्मा भएको पैसाले प्रत्यक्ष रूपमा कम्पनीको विस्तार गर्न मद्दत गर्छ। यस कारण अझ बढी रोजगारी सिर्जना हुन्छ। स्टक बजार नभए वित्तीय सेवामा काम गर्ने सयौं युवा बेरोजगार हुन्थे।
स्टक बजारको अर्को भूमिका भनेको बैंकिङ संस्थाहरूको दायराबाहिर पैसा कमाउन चाहने ठूला तथा साना लगानीकर्ताका लागि मध्यस्थकर्ताको रूपमा काम गर्नु हो। अर्थतन्त्रमा स्टक एक्सचेन्जको भूमिका भनेको बचतमा अधिकतम प्रतिफल दिनु हो। अन्यथा हामी स्थिर बैंक खातामा भर गर्नुपर्ने हुन्छ जहाँ प्रतिफल कम हुन सक्छ। अवकाशका लागि बचत गर्ने औसत लगानीकर्ता साधारणतया स्थिर कम्पनीको दीर्घकालीन मुनाफा र लाभांश स्टकबाट उत्पन्न आयमा भर पर्न सक्छ।
स्टक जोखिमपूर्ण हुन सक्ने भए पनि यसले साना तथा ठूला लगानीकर्तालाई धन आर्जन गर्ने मौका दिन्छ। अत्याधुनिक लगानीकर्ताले प्रयोग गर्ने अवसरवादी व्यापारिक रणनीतिलाई ध्यानमा राख्दै, व्यापारिक लगानीकर्ताले बजारको बदलिँदो चक्रमा समेत धन आर्जन गर्न सक्छन्।
उदाहरणका लागि कुनै पेशेवर पैसा प्रबन्धकले स्टकको मूल्य गुमाए पनि प्रतिफल कमाउन सक्छन्।
सायद यसरी पनि धन आर्जन गर्न सकिने भएर होला पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यसलाई 'जुवा घर' र अहिले पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'सामन्तवादी लगानी' भनेका। सायद उनीहरूले यसलाई नकारात्मक तरिकाले मात्रै महसुस गरे होलान्।
तर उनीहरूको भनाइ गाडीले हामीलाई छिटो र आरामदायी साथ विभिन्न गन्तव्यमा लैजान्छ भन्ने बिर्सेर गाडीको वायु र ध्वनी प्रदूषणमा मात्र केन्द्रित भएजस्तो लाग्यो। वायु र ध्वनी प्रदूषणमा केन्द्रित हुनु राम्रो हो। तर उनीहरूले स्थितिको कसरी समाधान गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने हो।
यस्तो समाधान खोज्ने ठाउँ संसद हो। संसदमा किन कुरा मात्र हुन्छ तर समाधान खोजिँदैन?
नेताहरूले नसोची बोलिदिएर, मानिसहरूलाई उत्तेजित गर्ने काम किन हुन्छ?
राजनीतिले स्टक बजारलाई केही हदसम्म असर गर्ने सम्भावना हुन्छ। किनभने नियमन र कानुनजस्ता राजनैतिक कार्यहरूले कम्पनीहरूमा प्रभाव पार्छ। अनि तिनीहरूको आधारभूत कार्यसम्पादनमा प्रभाव पार्छ।
तर स्टकको कार्यशैलीमा राजनीति मुख्य कुरा होइन। स्टक किन्ने कुनै पनि लगानीकर्ताले कुनै पनि राजनैतिक प्रशासनमा नभई व्यापारमा इक्विटी किनिरहेको हुन्छ। त्यसैले कुनै नेताले बोलिदिएको भरमा भटाभट स्टक किनिहाल्नु वा बेचिहाल्नु पर्दैन। स्टक लगानीमा राजनीतिभन्दा स्टक किनिएको कम्पनीको व्यापारको दृष्टिकोण महत्त्वपूर्ण हुन्छ।
तै पनि एकछिनका लागि मानौं स्टक एक्सचेन्ज जुवा खेल्ने ठाउँ हो रे। राम्रो नियमन गर्दा तासघरले लसभेगास जस्ता सहरको निर्माण गर्न पनि त सक्छ। लसभेगास मुख्यतया जुवा र नाइटलाइफका लागि प्रख्यात छ। यो उपत्यका समग्रमा नेवाडाका लागि अग्रणी वित्तीय, व्यावसायिक र सांस्कृतिक केन्द्रका रूपमा उदाएको छ। आखिर जुवा खेल्ने ठाउँ पनि नियमन गर्न सकियो भने वित्तीय केन्द्र बन्न सक्दो रहेछl
एक जुवा घरले अर्थतन्त्रमा यत्रो सहयोग गर्न सक्छ भने स्टक एक्सचेन्जले के गर्न सक्छ, कल्पना गर्नुहोस् त।
त्यसैले मुद्दा जुवाको हैन, नियमनको होl
शिक्षकले अध्यापन गराउँदै गर्दा अतिरिक्त आम्दानी स्टक एक्सचेन्जमा लगानी गरेर किन नकमाउने? विद्यार्थीले पनि स्टकमा लगानी गरेर पैसाको मूल्य बुझ्न सक्छन्। तिनीहरूले अध्ययन गर्दै लगानी गरेर आर्थिक उन्नति गर्न सक्छन्।
स्टक बजारमा लगानी गर्नुअघि यी लगानीकर्ताले कम्पनीको वर्तमान वित्तीय स्थिति बुझ्न समय बिताउँछन्। साथै कम्पनीको भविष्यमा हुने वृद्धिबारे विश्लेषण गर्छन्। त्यसका लागि तिनीहरूले विभिन्न गणितीय सफ्टवेयरहरू प्रयोग गर्छन्। यस्ता विश्लेषण क्षमता भविष्यमा उनीहरूलाई उपलब्ध हुने जागिरमा प्रयोग गर्न वा आफ्नै कम्पनी स्थापना गर्न उपयोगी हुन सक्छ l यो नै राष्ट्रका लागि बढी लाभदायक हुन सक्छ।
हामीले सधैं राजनीतिज्ञका पछि लाग्नु पर्दैन। हामी आफ्नै गन्तव्य बनाउन सक्छौं। हामी अर्को वारेन बफेट हुन चाहन्छौं।
त्यसैले कृपया हामीलाई राजनीतिज्ञ मात्र नबनाउनुहोस्। हामीले यो वा त्यो बाद बुझ्यौं तर जीवन चलाउन ती बाद जानेर हामीलाई पुगेन। हाम्रा पारिवारिक खर्च ती बादले चलेनन्। हाम्रो जीवन सहज रूपमा सञ्चालन गर्न आयआर्जन गर्न महत्वपूर्ण छ।
त्यसैले हामीले आफ्नो आम्दानीको एउटा स्रोतका रूपमा स्टक एक्सचेन्जलाई प्रयोग गऱ्यौं। कृपया यसबारे नबुझी बोलिदिएर अप्ठ्यारो सिर्जना नगरिदिनुहोस्।
(लेखक पाण्डे टेक्सास, डालासस्थित युटी साउथवेस्टर्न मेडिकल सेन्टरमा पोस्टडक्टरल फेलोका रूपमा कार्यरत छन्।)
See More Product Images:
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
