FILTER SEARCH
ID: 202008B20
Created At: 31-Aug-2020 02:28 AM
चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्।
चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।
परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले होङ्सीका कामदारमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने कार्य अन्तिम चरणमा रहेको बताए।
'शुक्रबार सबै सरोकारावाला समूहसँग कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको बारेमा भर्चुअल बैठक गरेका छौं। नेपाल पनि भ्याक्सिन निर्माण गर्ने उपयुक्त कम्पनीको क्लिनिकल ट्रायलमा जानु पर्ने भन्ने विषयमा सहमति छ,' ज्ञवालीले नेपालखबरसँग भने, 'केही कम्पनीहरुले इच्छा पनि देखाएका छन्। जसमा चीनको होङ्सीसँग छलफल अन्तिम चरणमा छ। एकदुई दिन छलफल पछि यसको अन्तिम टुङ्गो लाग्छ।'
ज्ञवालीका अनुसार होङ्सीमा कार्यरत रहेका र परीक्षणमा सहभागी हुन चाहने ५ सय मजदुरमा एक हजार भाइल भ्याक्सिन परीक्षण गर्ने अनुमति माग भएको छ।
चिनियाँ दूतावासबाट परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषदसम्म परीक्षणको प्रस्ताव आइपुगेको हो।
नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म 'सिनोभ्याक्स' नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ। सोही कम्पनीले आफ्नो खोपलाई होङ्सीका कामदारमा क्लिनिकल ट्रायल गर्ने खोजेको हो।
चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्। सिनोफार्मले क्लिनिकल ट्रायलका लागि ५० हजारभन्दा बढी डोज उत्पादन गरेको बताइएको छ। सो कम्पनीको एक ब्याचमा तीस लाख डोज उत्पादन गर्न सक्ने र एक वर्षमा दस करोड डोज उत्पादन गर्ने क्षमता भएको जनाइएको छ।
'डकुमेन्ट र अन्य प्राविधिक विषयहरु अहिलेसम्म ठिकै छ,' ज्ञवालीले भने, 'उनीहरु इन्डोनेसिया, ब्राजिल, फिलिपिन्स र पाकिस्तानसहितका देशमा समेत परीक्षण सुरु गर्ने तयारीमा छन्। नेपालमा पनि प्रोटोकल तयार गरेर अन्तिम रुप दिइन्छ।'
विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्ध परीक्षणरत सम्भावित खोपको सूचीमा समेत सिनोभ्याकको खोप समावेश गरेको छ।
'सबै प्रक्रिया पूरा गर्ने कम्पनीले विगतमा पनि भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि अनुमति पाउने गरेका छन्। हाम्रो जस्तो सानो बजार भएको स्थानमा कुनै कम्पनीले हामीले निर्धारण गरेको सबै विधि र प्रक्रिया पूरा गरेर परीक्षण गर्न चाहन्छ भने त्यसको स्वागत गरिनुपर्छ,' परिषदको अनुसन्धान विभागका प्रमुख मेघराज धिमालले भने।
तर त्यस्तो परीक्षणअघि परिषदले गठन गरेको एथिकल कमिटीबाट कम्पनीले स्वीकृति लिनुपर्ने हुन्छ। परीक्षण गरिने औषधि कम्पनीले परीक्षण गरिने व्यक्तिमा कुनै प्रकारको जटिलता देखिए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ।
औषधि उत्पादनमा सहकार्य गर्ने रुसको प्रस्ताव
कोरोनाविरुद्ध खोप निर्माण गरेको दाबी गर्दै आएको रुसले स्थानीय औषधि कम्पनीसँग मिलेर नेपालमै खोप उत्पादन गर्ने प्रस्ताव गरेको छ। खोप उत्पादनमा पहिलो भएको दाबी गर्दै मस्कोले त्यसको नाम स्पुतनिक भी राखेको छ। जसलाई नेपालमै उत्पादनको गर्ने सकिने उसले जनाएको छ।
'रुसले पनि भ्याक्सिनमा चासो देखाएको छ। उहाँहरुले नेपालकै कम्पनीसँग मिलेर पनि उत्पादन गर्न सकिने र नेपाललाई निशुल्क दिनेसम्मको विषयमा कुराकानी भएको छ,' सदस्य सचिव ज्ञवालीले भने, 'हामीले रुससँग पनि आवश्यक पर्ने काजगातहरु मगाएका छौँ।'
त्यसैगरी अक्सफोर्डले निर्माण गरेको खोपको क्लिनिकल ट्रायलको विषयमा समेत कुराकानी भइरहेको सदस्य सचिव ज्ञवालीले बताए।
See More Product Images:
202007B1913
Subscribe to The Australi...
202007B1956
कोरोना सं...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout